कैलालीको जानकी गाउँपालिका–१ दुर्गौलीमा कभर्डहल निर्माण दुई वर्ष अगाडि सम्पन्न भएको थियो । विशेषगरी ब्याडमिन्टन खेलाडीलाई लक्षित गरेर निर्माण भएको कभर्डहलमा ब्याडमिन्टनका दुई कोड निर्माण भएका छन् । खेलप्रेमीका लागि बस्ने व्यवस्था पनि छ । उसरीभन्दा सबै सुविधा कभर्डहलमा भित्र छ । निर्माण सम्पन्न भएको कभर्डहल अझै पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन ।
तत्कालीन गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीको पालामा भएको महत्वपूर्ण काममध्ये त्यो पनि एक हो । केही समयसम्म सञ्चालनमा आएको कभर्डहल यतिबेला पूर्णरुपमा बन्द भएको छ । गाउँपालिकाले करिब रु दुई करोड लगानी गरेको कभर्डहल प्रयोगविहीन भएपछि स्थानीयले गाउँपालिकाको विरोधसमेत गर्न थालेका छन् ।
“करोडौँ लगानी भयो, तर त्यसको सदुपयोग हुन सकेन । त्यहाँ लगानी भएको पैसा अन्य खेलकुद मैदान व्यवस्थापनमा खर्च भएको भए गाउँपालिकाभित्रका सबै खेलाडीलाई राम्रो हुन्थ्यो होला”, स्थानीय समाजसेवी बपलबहादुर रावत भन्नुहुन्छ, “अहिले संरचना छ त्यसको काम छैन, सञ्चालन नभएरै जीर्ण हुने अवस्थामा कभर्डहल पुगेको छ, खेलाडीले पनि कभर्डहलको प्रयोग गर्न पाएका छैनन् ।”
कभर्डहल निर्माणका लागि गाउँपालिकाले निर्माण कम्पनीसँग रु एक करोड ८४ लाखमा सम्झौता गरेको थियो । निर्माण कम्पनीले कभर्डहल निर्माण गरेबापत गाउँपालिकाबाट रु एक करोड ८० लाख भुक्तानी लिएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र शाहले बताउनुभयो । उहाँका अनुसार कभर्डहलको निर्माण कार्य सम्पन्न भएर २०७८ मङ्सिरमा गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । रासस