०५ जेठ, कास्की ।
नेपालमा पुन मगरको जनसङ्ख्या सात लाखको हाराहारीमा छ । पुरानो धौलागिरि क्षेत्रमा बढी बसोबास रहेको यो समुदाय अहिले देशका विभिन्न ठाउँमा छरिएका छन् । उनीहरुको छुट्टै संस्कार र संस्कृतिमध्ये सोरठी पनि एक हो । सोरठीलाई पुख्र्यौंलीको रूपमा लिने उनीहरु यही संस्कृति बचाउन अहिले तल्लीन छन् ।
यसमा विषेश गरी मारुनी, मादले र हाइ हाल्ने रहेका छन् । सुरुमा हाइ हाल्ने (गीत गाउने) ले भाका हाल्न सुरु गर्छन् । अनि मादले (नाच्ने केटा) ले उनीहरुसँगै ताल मिलाउँछन् । मादलेको तालसँगै मारुनी (नाच्ने केटीहरु) कम्मर मर्काउन सुरु गर्छन् ।
सोरठीको सुरुआतीमै सरस्वती जगाइन्छ । सरस्वती जगाइसकेपछि मादलको तालमा नाच्ने गरिन्छ । सोरठी नाच गीतभन्दा पनि मादलको तालमा नाचिने नृत्य भएको संरक्षककर्ता हर्क पुनले बताउनुभयो ।
पोखरा–१ स्थित गडकी प्रज्ञा–प्रतिष्ठानको भानु कक्षमा बिहिबार दिनभर पुख्र्यौंली नृत्य प्रदर्शन भयो । प्रदर्शनसँगै गीतको छायाङ्कन पनि चलिरहेको थियो । यसरी नाचिने मारुनी जोगाउन र यसको छायाङ्कन गर्न दिनभर उनीहरू तल्लीन थिए ।
छायाङ्कनको काम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले गरिरहेको थियो । नेपालभरका पुराना संस्कृतिको दस्तावेजीकरणका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा छायाङ्कनको काम चलेको हो । आफूहरुको संस्कृतिमा सरकारले चासो दिएर संरक्षणका लागि पहल थाल्दा उपस्थित पनि खुसी थिए ।
छायाङ्कनका लागि ढुङ्गेपाटन पुन मगर समाजबाट जानुभएकी चुकमाया पुर्जा पुनले पुख्र्यौंली नृत्य पुस्ता हस्तान्तरणमा समस्या रहेको बताउनुभयो । “हामीले त नाच्छौँ, गाउँछौँ तर हामीपछिको पुस्ताले त्यसलाई कसरी धान्लान भन्ने चिन्ता लाग्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यसरी नै चासो दिने हो र दस्तावेजका रुपमा संरक्षण गरिदिने हो भने पछिल्ला पुस्तालाई देखाउन सहज हुन्थ्यो ।”
सोरठी नाच लोप भइसकेको अवस्थामा विसं २०४० देखि ब्युताइएको अर्का व्यक्ति हर्क पुनले जानकारी दिनुभयो । “धेरैले भुलिसकेका थिए । पछि हाम्रै नेतृत्वमा यसलाई ब्युताएका हौँ”, उहाँले भन्नुभयो, “अब फेरि नयाँपुस्तालाई कसरी हस्तान्तरण गर्ने भन्ने चिन्ता छ ।” अहिले यो नृत्य पुन मगर समाजले घरमा तथा जन्म, पास्नी, विवाह, व्रतबन्ध, पूजाआजा र मृत्युमा देखाउने गरेका छन् ।
आफूहरूमा सोरठी नृत्यको छुट्टै महत्व रहेको हर्कले सुनाउनुभयो । “यो राजकुमार र राजकुमारीको कथामा आधारित छ”, उहाँले भन्नुभयो, “भिमला राजकुमार र हाइमती राजकुमारीको कथामा यो नाच केन्द्रित छ। एघार वटा मुख्य र १५ वटा सहायक हाँगागरी २९ वटा हाँगा सक्न ३० घण्टा लाग्छ”, “प्रज्ञा–प्रतिष्ठानमा दस्तावेजीकरणका लागि छ वटा मात्र हाँगा प्रस्तुत गरिएको हर्कले बताउनुभयो ।
पुन मगरमा प्रचलित यो नाच विशेषगरी धौगागिरि क्षेत्रमा नाच्ने गरिएको नेपाल पुन मगर समाजका महासचिव खेम पुनले जानकारी दिनुभयो । “विशेषगरी धौलागिरि क्षेत्रमा नाचिने यो नाच संरक्षण, विकास, पुस्तान्तरण गर्न चुनौती थियो”, उहाँले भन्नुभयो, “यही अवस्थामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको यो कामले हामीलाई केही सहज भएको छ ।”
पश्चिमा संस्कृतिको प्रभावले पुराना संस्कृति छायाँमा परेको महासचिव पुनले सुनाउनुभयो । “हाम्रो समाजले संरक्षणको काम गरिरहेको छ । युवायुवतीलाई पनि सिकाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, “यसमा हामीले मात्र गरेर हुँदैन् । सरकारले पनि ध्यान दिनुपर्छ । तर सरकारका तर्फबाट यसको सुरुआत गरिएकामा पनि निकै खुसी लागेको छ ।”
विभिन्न जातजातिको संस्कृति देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने प्रतिष्ठानअन्तर्गत शास्त्रीय तथा परम्परात सङ्गीत विभाग प्रमुख डाक्टर राईले बताउनुभयो । “विभिन्न जातिको संस्कृति हाम्रो सम्पत्ति हो । यसलाई हामीले लिपिबद्ध गरेर राज्य मातहत पनि राख्नुपर्छ”, उहाँले भन्नुभयो, “यसैका लागि हामी लागेका हौँ । सुरुमै पुन मगरको सोरठी (पुख्र्याैंली) नाच छायाङ्कन गर्न पोखरा आएका छौँ । यसपछि अरु अरु जातिको संस्कृतिको छायाङ्कनमा लाग्ने योजना छ ।”
यसरी दस्तावेजीकरण गरेर राखेपछि देशको पर्यटनसँगै देशको अर्थतन्त्र सुधारमा यसले टेवा पु¥याउने उहाँको भनाइ थियो । प्रतिष्ठानको कामले संस्कृति संरक्षणमा टेवा पुग्नाका साथै अध्ययन गर्न चाहाने युवापुस्ता, विज्ञले पनि अध्ययन गर्न पाउने प्रमुख राईले बताउनुभयो । स्राेत रासस