मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘बर्साइत’ पर्वको चहलपहल छ । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै व्रत बसेका विवाहित मिथिलानी (मिथिलाका महिला) बस्ती–बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर मनाउने यो पर्वले आज चहलपहल बढाएको हो । ‘वट–सावित्री’ पनि भनिने यो पर्वमा नयाँ–नयाँ वस्त्र परिधानलगायतका महिलाको सामूहिक गीत आम बटुवाका लागि पनि रमाइलो हुने गरेको छ ।
सत्ययुगमा सतीसावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् । जेष्ठ कृष्ण चतुर्दशीका दिन व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख)को फेदमा बर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् । बर्तालुले जेष्ठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।
सतीसावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएको पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ गरिन्छ ।
नयाँ–नयाँ वस्त्रमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो व्रतको परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको भङ्गाहा–४ रामनगर वरचौतारामा आज पर्व मनाउँदै भेटिनुभएकी सयाली महतोले बताउनुभयो ।रासस
