कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थीत पर्यटकीय मार्ग धारापानीमा पद्माग निर्माणको कार्य अगाडी बढाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धारापानी पुग्ने बाटोमा ढुङ्गा बिछ्याउने कार्य भइरहेको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णप्रसाद भट्टले बताउनुभयो ।

“प्रधानमन्त्री रोजगार कार्यक्रमको रु छ लाख रकम खर्च गरेर पदमार्ग निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “नब्बे दिनभित्र पदमार्ग निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएका छौँ, हालसम्म पदमार्ग निर्माणको ८० प्रतिशत कार्य सम्पन्न भएको छ ।” प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोटमा परेका १५ जना बेरोजगारले पदमार्ग निर्माण गरिरहेका छन् । एक साताभित्रै पदमार्ग निर्माणको कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।

रोजगार शाखका प्रमुख भट्टका अनुसार पहिलो चरणमा एक हजार पाँच सय मिटर पदमार्ग निर्माणको कार्य गरिने भएको छ । दोस्रो चरणमा पर्यटकीय क्षेत्र धारापानीसँगै बतासे झरनासम्म पदमार्ग निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।

पदमार्ग निर्माण भएको क्षेत्रमा विगतका वर्षहरुमा सडक निर्माण गर्नका लागि ट्रयाक खोलिए पनि निरन्तर पहिरो जाने र पानी चुहिने हुँदा निर्माण कार्य अगाडि बढाउन सकिएको थिएन । रु चार लाखदेखि पाँच लाख रकम ट्रयाक खोल्नमै सिद्धिएको थियो । ट्रयाक खोलिएकै सडकलाई पदमार्गका रुपमा परिणत गर्न थालिएको छ । पर्यटकलाई गन्तव्यमा सहजरुपमा पुग्नका लागि पदमार्ग निर्माणको कार्य अगाडि बढाइएको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।रासस