देउडा र रतेडी सुदूरपश्चिमका पहिचान हुन् । कुनै बेला गाउँघरमा विवाह, व्रतबन्धजस्ता कार्यक्रममा रातभरि खेलिने देउडा र रतेडी आजभोलि त्यति देखिँदैन । देउडा र रतेडीको साटो बालबालिका र युवा पिँढीहरु आधुनिक डिजेका बाजामा रमाएको देखिन्छ । आधुनिक बाजाले त हाम्रो संस्कृति हराउँदै गएको बूढापाकाहरुले बताए ।

विगतमा विवाह व्रतबन्ध हुँदा गाउँघरमा रतेडी र देउडा खेल्नकै लागि वल्लो गाउँ पल्लो गाउँबाट महिला, बूढापाकाहरु जम्मा भएर देउडा र रतेडीमा रमाएको देखिन्थ्यो भने आजभोलि यस्ता कार्यक्रममा बालबालिका र युवा पिँढीहरु बढी रमाउने गरेका स्थानीयवासी खिमादेवी विश्वकर्माले बताउनुभयो । “गाउँघरमा कसैको विवाह भए रातभरि खेलिने देउडा र रतेडी आजभोलि खेलेको देखिँदैन”, उहाँले भन्नुभयो, “बूढापाकाहरु देउडा र रतेडी निकै मन पराउँछन् तर अचेलका युवाहरु खेल्न रुचाउँदैनन् ।” खिमादेवीलाई विगतमा रातभरि देउडा खेलेको याद अझै छ । “एकपटक रातभरि रतेडी खेलेका थियौँ”, उहाँले भन्नुभयो, “हिजो आज देउडा १÷२ घन्टा पनि खेल्न पाइँदैन ।”

कैलालीको जानकी गाउँपालिकाका रतिराम सापकोटालाई आजभोलिका विवाह तथा उत्सवमा खासै रमाइलो लाग्दैन । देउडा खेल्न निकै मनपराउने उहाँ आधुनिक नृत्य हेर्न मन नलाग्ने बताउनुभयो । “रतेडी र देउडा गीतभन्दा पनि आधुनिक बाजामा मानिसहरु (डिजे) बढी रमाएको देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “हाम्रा पालामा लगातार दुई दिनसम्म देउडा खेलिन्थ्यो । देउडामा गरिने सवाल जवाफ सुन्न र हेर्न अझै पनि निकै आनन्द लाग्छ ।”

देउडामा गरिने सवाल जवाफले समाजको चित्रण गर्ने सापकोटाले बताउनुभयो । “गीतले समाजको परिवेश र अवस्था झल्काउँथ्यो”, उहाँले भन्नुभयो, “बाजागाजा बजाउँदा रमाइलो देखिए पनि मौलिकता छैन ।रासस