कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याकः मिसा)लाई प्रसाद दिनुभएको छ । यसबाट विगत १७ सय वर्षदेखि चल्दै आएको सो परम्पराले निरन्तरता पाएको छ ।

मध्यरात कीर्तिपुर नगरपालिकाबाट मछिन्द्रनाथको प्रतिमूर्तिलाई पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यलाई हस्तान्तरण गरिएको थियो । याक मिसाको प्रतिमूर्तिलाई भने कीर्तिपुरमा भविष्यमा स्थापना हुने सङ्ग्रहालयमा राख्ने निर्णय भएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिनअघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुर–२ पुरातात्विकस्थल प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी अविवाहिता)लाई प्रसाद ग्रहण गराउने परम्परा छ । यसैगरी रथयात्राकै कुनै एक दिन कीर्तिपुरका महिलाले रथ तान्ने चलनसमेत यहाँ चलेको छ ।

यसैबीच गत मङ्सिरमा स्थानीय सुखी गंछेँ समाजको पहलमा मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसको मच्छिन्द्रनाथका पुजारीको समूह हयग्रवी भैरवनाथ तथा ३२ पानेजु सङ्घले कडा विरोध जनाएको थियो । तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रूपमा पूजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भनाइ उनीहरूको थियो । मूर्ति हटाउने र नहटाउनेबीचको विवाद कीर्तिपुर नगरपालिकाको समन्यवमा समाधान गरिएको हो ।रासस