स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताउनुभएको छ ।

आज यहाँ एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गर्दै उहाँले विपन्न नागरिकको सहज र निःशुल्क स्वास्थ्योपचारमा पहुँच पु¥याउनका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

“विपन्न नागरिकको उपचार जिम्मेवारी सरकारले लिनुपर्छ । तर स्वयं मन्त्रालयसँग बिरामीलाई सहयोग गर्न रकम छैन”, उहाँले भन्नुभयो, “त्यसैले सुर्तीजन्य पदार्थमा कर ह्वात्तै बढाएर त्यसबाट प्राप्त रकमलाई कोषको रूपमा खडा गरेर बिरामीको उपचारका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव गरेको छु । छिट्टै स्वीकृत भएर काम अघि बढ्नेछ ।”

मन्त्री बस्नेतले स्वास्थ्यमा बजेट बढाउन निरन्तर पहल गरिरहेको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङमा घटेर आयो । म आएपछि, मन्त्रालयको टोलीले नै अर्थ मन्त्रालयमा अनुरोध गरेपछि सात अर्ब बजेट थप्न सकेका छौँ ।”

उहाँले एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत गर्नुभयो । सामुदायिक अस्पतालको स्तरोन्नति गर्न आफू लागिपरेको भन्दै मन्त्री बस्नेतले धुलिखेल सामुदायिक अस्पताललाई ट्रमा अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।रासस