नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार एक सय ९९ जनाको आँखा परीक्षण गर्दा दुई सय ४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रक्षा पन्तले बुधबारसम्ममा एक सय ५४ बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामी बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिनुभयो ।

यही जेठ १ र २ गते देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका नौ सय १९ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो । सो अवसरमा आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीले आफ्नो घर आँगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका थिए ।

अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताउनुभयो । विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सुमित मिश्र र डा प्रिति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गर्नुभएको थियो ।रासस