बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्न थालेको छ । हातले बुनेर निर्माण भएका आर्कषक सामग्रीको माग बढेपछि थारु समुदायका महिला उत्साहित भएका छन् ।
हस्तकलाका सामाग्रीलाई व्यवसायीकरण गर्ने उद्देश्यले नेपालगञ्जमा विसं २०६७ मा स्थापना भएको पञ्चशील हस्तकला केन्द्रले माग अनुसार हस्तकलाका सामाग्री निर्माण गरिरहेको केन्द्रका अध्यक्ष निरु चौधरीले बताउनुभयो । “हस्तकलाका सामाग्री उत्पादन गर्ने कामबाट थारु समुदायका महिला स्वरोजगार भएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार संस्थाले हडकेस, टी, म्याट, पेन होल्डर, ट्रेलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ ।
अध्यक्ष चौधरीले हस्ताकला बनाउने थारु समुदायको पुख्र्यौली पेसा भएकाले पनि महिलाहरु यसतर्फ आकर्षित भएका बताउनुभयो । “खेतबारी तथा नदी किनारमा पाइने मोज र काँश प्रजातीको वनस्पतिलाई प्रशोधन गरेर त्यसबाट यस्ता हस्तकलाका सामग्री निर्माण गर्दछौँ”, उहाँले भन्नुभयो, “खेतबारीमा खेर गएको वस्तुलाई हामीले उपयोग गरेका छौँ ।” हस्तकलाका सामग्रीबाट मनग्य आम्दानी भएको तथा थारु समुदायका महिलाले रोजगारी पाएका भन्दै अध्यक्ष चौधरीले हस्तकला सामग्री उत्पादनको उद्योग नै स्थापना गरेर सञ्चालन गरिएको बताउनुभयो ।
उहाँका अनुसार उद्योगमा चारजना थारु महिला उद्यमी सदस्य हुनुहुन्छ । एक्लैले हस्तकलाका सामान पु¥याउन नसक्ने भएपछि अन्य उद्यमी महिलालाई सदस्य बनाएको उल्लेख गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, “उद्योगका सबै महिलालाई जिम्मेवारी बाँडफाट गरेका छौँ, आ–आफ्नो जिम्मेवारी अनुसारको काम गर्छौँ ।रासस
