जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

विश्वका १४ देशका करिब एक सय २० युवाहरूको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाइ’ रहेको छ । ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरूले जलवायु उत्थानशीलताका लागि नवीनतम् र अन्यत्र लागू गर्न सक्ने समाधानका उपायहरूका बारेमा छलफल गर्ने आयोजकले जनाएको छ ।

यो वर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको हो । सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा आयोजना हुनेछन् भने युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरूको आवाज समेटेर एउटा पैरवीपत्र अर्थात् एड्भोकेसी पेपरसमेत जारी गरिनेछ ।

सम्मेलनको दौरानमा सीएनआई, नेपाल चेम्बर अफ कमर्स तथा सीउनआइवाइइएफजस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिबद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यावसायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनमा के–कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ ।रासस