नेपालको समग्र कृषि तथा वन क्षेत्रको रुपान्तरणमा संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) कोे ‘कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३–२०२७’ सार्वजनिक गरिएको छ ।
सन् २०२३ देखि २०२७ सम्मको रणनीतिक कार्यक्रम समावेश भएको सो फ्रेमवर्क कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, एफएओका एशिया प्रशान्त क्षेत्रका प्रमुख जोङ जिन किम र संयुक्त राष्ट्र सङ्घीय आवासीय प्रतिनिधि हाना सिंगर ह्याम्डीले बुधबार संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा कृषिमन्त्री डा भुुसालले नेपालको कृषि क्षेत्रको विकासमा एफएओ नेपालको साथ र सहयोगको प्रशंसा गर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न यो फ्रेमवर्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । एफएओ नेपालसँगको करिब सात दशकभन्दा लामो सहयोग र सहकार्यको प्रशंसा गर्दै उहाँले यो फ्रेमवर्क नेपाल सरकार तथा एफएओको साझा दस्तावेज भएको बताउनुभयो । यसले नेपालको कृषि क्षेत्र तथा वन क्षेत्रको दिगो विकास, खाद्य तथा पोषण सुरक्षा कायम गर्ने साथै दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले फ्रेमवर्क नेपालको खाद्य प्रणाली रुपान्तरण, भोकमरी तथा गरिबीविरुद्धको राष्ट्रिय अभियानमा सहयोग गर्न तथा जलवायु परिवर्तनसँग जुध्न विशेष भूमिका रहने बताउनुभयो । एफएओका एशिया प्रशान्त क्षेत्रका प्रमुख किमले नेपाल सरकारले तय गरेका नीति तथा प्राथमिकतालाई एफएओको म्यान्डेटअनुसार सहयोग गर्न तत्पर रहेको बताउनुभयो । एफएओले उत्पादनमा वृद्धि, पोषणमा सुधार, वातावरणमा सुधार, समृद्ध जीवनयापनको रणनीतिक ढाँचाअनुसार आफ्ना सदस्य राष्ट्रमा कार्यक्रम तथा क्रियाकलाप सञ्चालनमा ल्याएको उहाँको भनाइ थियो । रासस