कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् ।

दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका हुन् ।

भन्सार कार्यालयले एक वर्षदेखि भन्सारमा आएका अवैध सवारी साधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । भन्सारमा सयौंँ मोटरसाइकल मात्रै नभइ दर्जनौँ अटो रिक्सा पनि छन् । साथै भन्सारमा साइकल र चार पाङ्ग्रे सवारीसाधन पनि छन् । कैयौँ मोटरसाइकलका पार्टपुर्जा नै छैनन् । लिलाम प्रक्रिया झन्झटिलो भएका कारण भन्सार कार्यालयले त्यसमा चासो दिन सकेको छैन ।

लिलाम गर्नु पहिले इञ्जीनीयरले सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा सबैभन्दा झन्झट इञ्जीनीयरलाई बोलाउनु रहेको भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारु बताउनुहुन्छ । “सबैभन्दा असजिलो काम भएका कारण भनेको समयमा सवारी साधनको लिलाम गर्न सकिएको छैन”, उहाँ भन्नुहुन्छ, “प्रक्रिया लामो छ, इञ्जीनीयर बोलाउनुपर्छ, भनेको समयमा इञ्जीनीयर आउँदैनन्, यातायात कार्यालयबाट मान्छे आउनुपर्छ, झन्झट भएकै कारण पनि समयमा काम हुन नसकिएको हो ।रासस