तनहुँको व्यास नगरपालिका–९ माँझफाँटकी आसमाया विक नौ महिना पहिला वैदेशिक रोजगारका लागि दुवई पुग्नुभयो । म्यानपावर कम्पनीमार्फत दुबई जानुभएकी उहाँले सम्झौता अनुसारको काम र तलब पाउनुभएन ।

वैदेशिक रोजगारमा जाँदा आफू ठगिएको महसुस भएको भन्दै विकले दुई महिना अत्यन्तै पीडादायी महसुस भएको बताउनुभयो । विकले भन्नुभयो, “यातना पनि पाएँ, धेरै रोएँ, कहिले घर जाउँ जस्तो भयो । घरपरिवारलाई यसबारेमा जानकारी गराएँ, नेपाल फर्किन्छु जस्तो लाग्न छाड्यो ।” जानेबेलामा एउटा काम भन्यो उता गएपछि त्यो काम भएन, तलब पनि एक हजार दुई सय रियाल भनेकामा नौ सय मात्र दिइएको उहाँको भनाइ छ ।

घरपरिवारले जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा यस विषयमा जानकारी गराएपछि उहाँहरुमार्फत स्वदेश फर्काउन पहल भयो । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) सञ्चालन भइरहेको छ ।

“सुरक्षित आप्रवासन कार्यक्रममार्फत म्यानपावर कम्पनीमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढेपछि म नेपाल फर्किएँ, रु ४० हजार पनि फिर्ता भयो,” विकले भन्नुभयो, “घर फर्किनलाई सामी कार्यक्रमको महत्वपूर्ण भूमिका छ ।” आवश्यक जानकारी र सीप बिना विदेश जाँदा दुःख पाइने भन्दै सामी कार्यक्रमको परामर्शमा मात्रै वैदेशिक रोजगारमा जान उहाँले सुझाव दिनुभयो ।

तनहुँको व्यास नगरपालिका–८ निवासी अमृता मिश्रका श्रीमान रोजगारीका लागि विदेश जानुभयो । विदेशमा उहाँका श्रीमान् तीनपटक बेहोस भएर ढल्नुभयो । पछि उहाँलाई प्यारालाइसिस भयो । श्रीमान् घर कसरी फर्काउने भन्ने चिन्तामा उहाँमा थियो । जब उहाँले सामी कार्यक्रमका बारेमा जानकारी पाउनुभयो, त्यसपश्चात् जिल्ला प्रशासन कार्यालयमा रहेको स्रोत केन्द्रमा सम्पर्क राख्नुभयो । रासस