विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो ।
पाँच/छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना, बालमन्दिर, अम्बेबरमावि राजाबास क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ ।
त्रियुगा नमुना माविका प्रधानाध्यापक सुवास विष्टका अनुसार छ वर्ष अघिदेखि विद्यालयमा नेपालीसँगै अङ्ग्रेजीमाध्यममा पठनपाठन सुरु गरेकाले विद्यार्थीको सङ्ख्या बढेको हो ।
प्रत्येक कक्षामा अधिकतम ४० देखि ५० विद्यार्थीको कोटा निर्धारण गरी भर्ना अभियान सुरु गरेपछि अहिले एउटै कक्षामा भर्ना हुन आउने सङ्ख्या दुई सयदेखि तीन सयसम्म पुगेको विद्यालयका सहायक प्रधानाध्यापक भोला केसीको भनाइ छ ।
अङ्ग्रेजीमाध्यममा अध्यापन सुरु भएपछि पहाडी क्षेत्रका विद्यार्थी पनि आउन थालेको छ । बालमन्दिर मावि गाईघाट बोक्सेका प्रधानाध्यापक जङ्गबहादुर खड्काले भन्नुभयो, “पाँच वर्षदेखि अङ्ग्रेजी भाषामा पनि पठनपाठन सुरु गरेपछि बर्सेनि दोब्बरको सङ्ख्यामा वृद्धि भइरहेको छ ।”
उहाँका अनुसार पाँच वर्ष अगाडिसम्म एउटा कक्षामा मुस्किलले एक सय जना आउने गरेकोमा अहिले एउटै कक्षामा तीन सयदेखि पाँच सयसम्म विद्यार्थीले भर्नाका लागि आवेदन दिने गरेका छन् ।
त्रियुगा नगरपालिका–९ राजाबासको अम्बेबर माविमा पनि भर्नाका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षक दानबहादुर कटुवालले बताउनुभयो । रासस
