०२ जेठ, काभ्रेपलाञ्चाेक ।

काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा सुरु गरिएको छ । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा राष्ट्रिय कोटिहोम आयोजना गर्न रथयात्रा सुरु गरिएको जनाएको छ ।

फाउन्डेसनले नेपालको गौरव धर्म, सम्पदा, संस्कृति र प्रकृति नै रहेकाले यी क्षेत्रको थप प्रचार गर्ने जनाउँदै रथगाडी तयार गरी रथयात्राको सुुरुआत गरेको हो । सोमबार साँझ चण्डेश्वरीबाट सुरु गरिएको रथयात्रालाई काभ्रेपलाञ्चोकको मुख्य धार्मिकस्थल पलाञ्चोक भगवती र नाला भगवती हुँदै ७७ जिल्लाका सदरमुकाम एवम् तीर्थस्थलमा जाने योजना बनाइएको संस्थाका मुकुन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रथयात्राका लागि गृहमन्त्रालय र यातायात व्यवस्था विभागबाट स्वीकृतिसमेत लिइएको छ ।

संस्थाले हालै बल्थलीमा एक सय आठ फिट अग्लो २० हजार किलोभन्दा बढी फलाम र तामाद्वारा शिवको त्रिशूल निर्माण सम्पन्न गरेको छ । सोही स्थानमा कोटिहोम आयोजना गर्न लागिएको हो । कोटिहोममा एक लाख किलो ‘चरु’ होम गरिने छ । यस्तै, कोटिहोममा एक सय आठ ब्राह्मणले एक महिनासम्म होम गर्नेछन् । कोटिहोमका सङ्कल्पकर्ता मुकुन्द शर्मा हुमागाईंका अनुसार अतिवृष्टि, अनावृष्टि, वातावरण प्रदूषण, भूकम्प, कोरोना महामारीजस्ता व्याधी प्रकोप, अनिकाल, भोकमरीलगायतबाट जोगाउन होम गर्न लागिएको हो । स्राेत रासस