रोल्पाका तीन हजार बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका तीन हजार एक सय ६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि सङ्घीय र स्थानीय सरकारले रु १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षात्को समयमा पानी चुहिने र सु्क्खा मैसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् ।
रोल्पा नगरपालिकामा एक हजार दुई सय ३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म छ सय ७८ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमबाट दुई सय ३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट चार सय ४६ घरको छाना फेरिएको हो । पाँच सय ६० घरमा फुसको छाना फेर्न बाँकी रहेको रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले बताउनुभयो । यस कार्यक्रमका लागि सङ्घीय सरकार र नगरपालिकाको रु तीन करोड १२ लाख खर्च भइसकेको छ । सङ्घीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका विपन्न समुदायका धेरैलाई राहत पुगेको छ ।
रुन्टीगढी गाउँपालिकाले फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका एक हजार छ सय ३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो । सो गाउँपालिकामा यस शीर्षकमा सङ्घीय सरकार र स्थानीय तहको रु पाँच करोड छ लाखभन्दा बढी बजेट खर्च भएको छ ।
त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनोट भएका पाँच सय १४ मध्ये तीन सय ८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि उसले सङ्घीय सरकार र स्थानीय सरकारको रु एक करोड ९४ लाख खर्च गरेको छ । परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय घर छनोट भएका थिए । उसले छनोट भएकामध्ये एक सय ६४ घरको छाना फेर्न रु ५१ लख ९३ हजार दिइसकेको छ । रासस