नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् ।
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ । मुनाफासँगै यसले बजार विस्तारमा टेवा पु¥याइरहेको छ ।
‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रैजात्रा’ र ‘महापुरूष’ निर्देशन गर्नुभएका निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा निर्मातालाई चलचित्र बनाउन आँट आउने बताउनुभयो । “स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा पनि विदेशमा बिक्री हुने प्रदर्शन अधिकारबापत प्राप्त हुने रकमले धेरै निर्मातालाई सहज बनाएको छ”, उहाँले भन्नुभयो, “मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।”
उहाँको निर्देशनमा तयार हुने ‘जात्रा’ को तेस्रो शृङ्खलासमेत विदेशमा बिक्री भइसकेको छ । यो चलचित्र बन्ने आधिकारिक घोषणा नभए तापनि पछिल्लो चलचित्रको व्यापारको आधारमा बिक्री भइरहेका हो । विशेषतःविदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवार नै साथै आउने गरेका छन् । रासस