वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ । यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो । तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन् । अलैँचीका बोट ढलिरहेका छन् । अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन् । त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ । यो दृश्य हो ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सिद्धिडाँडाको हो ।
वैशाख–जेठ महिनामा फूल फुल्नुपर्ने अलैँची अहिले बोट सुकेर सोत्तरजस्तै भएको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेसँगै किसान चिन्तित बन्दै गाएका छन् । लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । यस वर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा खासै हिउँ पर्न सकेन वर्षा र हिमपात नभएसँगै अलैँची बगानका लागि चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृषक कृष्ण गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “मैले ४० वर्षदेखि अलैँची खेती गर्दै आएको छु । विगतका वर्षमा ४० मन (४० केजीको एक मन) सम्म अलैँची जम्मा गरेँ तर विस्तारै अलैँची रोग र समयमा पानी नपर्दा सुक्न थालेको छ । बोट नै सुक्न थालेपछि फलको के आशा गर्नु र ।” आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्न थालेपछि किसान चिन्तित बन्न बुगेको सोही गाउँका वीरबहादुर फेम्बूले बताउनुभयो ।रासस