कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ ।
निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य मिल्ने जनविश्वास छ । मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकी नदी किनारमा अवस्थित यहाँ विशेषत हिन्दू धर्म संस्कारका कार्यका लागि यो धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ ।
मन्दिर पुनःनिर्माण, ज्येष्ठ नागरिक भवन, महन्त निवास, भान्छाघर, खानेपानी ट्याङ्की निर्माणलगायतका पूर्वाधार विकास हुँदै गएपछि धार्मिक पर्यटक बढेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताउनुभयो ।
“देवघाटधाम जस्तै बनाउने सङ्कल्पसाथ भौतिक संरचना तयार पारेपछि सबैजसो उमेर समूहका मानिस आउनेक्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “पहिला काम विशेषले मात्रै आउने अचेल घुमफिर, अवलोकनलाई आउँछन् ।”
शनिबार र बिदामा चहलपहल बढ्दो छ । कालीनदीको धार्मिक तथा ऐतिहासिक महत्वसँग जोडिएको केलादीधामका बारेमा चासो राख्दै अध्ययन अवलोकनलाई आउने गर्छन् । रासस