मधेस प्रदेश राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ । त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको स्थापित पहिचानलाई मध्यनजर गर्दै धार्मिक पर्यटनमैत्री विकास गतिविधि सञ्चालन गर्नु उपमहानरपालिकाको अर्को दायित्व छ । यसलाई पूरा गर्न अन्दाजको भरमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै प्राथमिकतामा आधारित विकास योजना र आन्तरिक आम्दानीको दायरा बढाउनुपर्ने चुनौती उपमहानगरलाई छ ।
“स्थानीय जनताका आवश्यकता, प्रादेशिक र अन्तर्राष्ट्रिय समुदायलाई समेत आकर्षित गर्ने गरी व्यवस्थित धार्मिक सहर बनाउनुपर्ने दायित्व उपमहानगरको काँधमा छ । हाम्रा लागि यो अवसर र चुनौती दुवै हो”, उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले भन्नुभयो, “त्यसका लागि विगतमा भएका राम्रा अभ्यासको अनुशरण र सुधार्नुपर्ने पक्षको प्राथमिकीकरण गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबाट केही फरक गर्ने सोचसहित अगाडि बढ्छौँ ।”
उहाँले जनकपुरधाम उपमहानगरपालिकाको एक्लै प्रयासले महत्वपूर्ण कार्य गर्न सजिलो नरहेको भन्दै नागरिक, सङ्घ तथा प्रदेश सरकारको पनि यसमा ठोस योगदान जरुरी रहेको बताउनुभयो । “स्थानीय जनताका आवश्यकता मात्रै पूर्ति गर्नुपर्ने भए सोहीअनुसारको योजना बनाउँथ्यौँ तर हेर्न लायक स्वच्छ प्रादेशिक र ऐतिहासिक धार्मिक सहरको संवेदनालाई पनि ख्याल गरेर विकास योजना कार्यान्वयन गर्नुपर्नेछ । त्यसका लागि जिम्मेवारीपूर्वक कर तिर्ने नागरिक, नागरिकमैत्री सेवाप्रवाह र योजनाबद्ध विकास खाकासहितको पर्याप्त लगानी सुनिश्चितता अहिलेको आवश्यकता हो”, साहले भन्नुभयो । रासस