नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको हो ।
ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आज बसेको स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिनुभयो ।
मिसन ग्रासरुट अभियानको नौवटै प्रदेशको समीक्षा प्रतिवेदनको आधारमा वार्षिक कार्ययोजना तयार पारेको हो । वार्षिक योजनाअनुसार पार्टीले पार्टी सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने भएको छ ।
मिसन ग्रासरुट अभियान सकिए पनि सदस्यता वितरण र नवीकरण अझ बाँकी रहेकाले सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्ययोजनाअनुसार पार्टी सदस्यता शुद्धीकरण अझ व्यापक बनाइने छ । एमाले आगामी जेठदेखि चैतसम्म कार्ययोजनाअनुसार सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने छ । एमाले असार १५ गतेसम्म जिल्ला कमिटीले पार्टी सदस्यता नवीकरण गर्ने र नवीकरण भौतिक उपस्थितिमा मात्र गर्ने जनाएको छ ।
नयाँ सदस्य र नवीकरण आगामी असार मसान्तसम्म प्रदेश कमिटीमार्फत विवरण केन्द्रमा पठाउने निर्देशन दिएको छ । यस्तै नवीकरण विवरणसँगै नवीकरण नभएका र सदस्यताबाट हटाउनेको नाम पनि पठाउने भनिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।रासस