“यसो गर्दा होला कि भन्यो, परिश्रम ग¥यो, तर केही हुने छाँट देखिन्न”, महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान सत्यनारायण यादव भन्नुहुन्छ, “के चिजले साथ नदिएको हो खोइ ? कुनै खेतीले पनि उभो नलाग्ने भइयो ।”

पछिल्ला १० वर्षयता नगद आर्जनका लागि तरकारी खेतीमा नङ्ग्रा खियाउँदै आउनुुभएका यादव समयले साथ नदिँदा अपेक्षित सफलता नपाएको गुनासो गर्नुहुन्छ ।

“बीस वर्षको उमेरदेखि खेतीमा घोटिएको किसान हुँ, दिगो तवरले कुनै खेतीमा जम्न सकिएन”, यादव भन्नुहुन्छ, “खासमा मौसमकै राम्रो साथ नपाउँदा खेतीले उँभो लागिएन ।”

धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली हुँदै अहिले उहाँ तरकारी खेतीमा संलग्न हुनुहुन्छ । यादवले अहिले लहरे तरकारी (फर्सी, लौका, घिरौँला, करेला, बोडी आदि) लगाउनुभएको छ । पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो नआउनेभएपछि बब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ ।

यादवकै छिमेकी रामबहादुर ठाकुर, बहुरा महतो, हरि महतो र गङ्गाप्रसाद महतो पनि पछिल्ला केही वर्षयता तरकारी खेतीमै घोटिनुभएको छ । पहिले पिताको सहयोगी भएर अन्नखेतीमा जम्नुभएका ठाकुरलाई क्रमशः पछिल्ला वर्षमा पानीको तुक नमिल्दा सुर्ती खेतीमा लागेको राम्रो हेक्का छ । विसं २०३० देखि २०४० सम्म बारनघर (सुर्ती सुकाउने घर) लाई दाउराको कमी हुँदै गएपछि उखुखेती हुँदै केही वर्षयता तरकारी खेती गर्न लागिएको उहाँ बताउनुहुन्छ ।राजन