गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज चार मन्त्री नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा तनहुँका जीतप्रकाश आले, कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नवलपुरका महेन्द्रध्वज जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बागलुङका दीपेन्द्रबहादुर थापा नियुक्त हुनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)बाट रेशम जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त हुनुभएको हो । विना विभागीयमन्त्रीका रुपमा पहिले नै शपथ लिइसक्नुभएका कांग्रेसका सरस्वती अर्याल तिवारीले ऊर्जा, जलस्रोत तथा खानेपानी र माओवादी केन्द्रका सुशीला सिम्खडाले सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको कार्य विभाजन हेरफेर गरेको थियो ।

नयाँ कार्य विभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामला, कानुन, सञ्चार आदिको कार्य जिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।

कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपन्छी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै बनाइएको हो । रासस