रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ । सो पदमा पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।
चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हाल्नुभएको थियो । स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उहाँलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो । सो बोर्डमा विश्वका २९ देश सहभागी रहेको बताइएको छ । चापागाईंले सन् २०२८ को जनवरीसम्म आइएफआरसीको सर्वाेच्च पदको नेतृत्व गर्नुहुनेछ ।
आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गर्दैआएको छ ।
दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागार्इंले भन्नुभयो, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।
तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईंले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् । सल्फेरिनो युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गर्नुभएको थियो । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ ।
सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई आइएफआरसीले बर्सेनि मानवीय सहायता पु¥याउने गरेको छ । साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्छ ।रासस
