शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा रोपेर सोचेभन्दा बढी उत्पादन गर्न सफल हुनुभएको छ । डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर उहाँले छ क्विन्टल उत्पादन गर्नुभएको छ ।

नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उहाँले पहिलो पटक परीक्षणका रुपमा आलु रोप्नुभएको हो । एउटै बोटमा दुई किलोसम्म आलु उत्पादन भएको उहाँले बताउनुभयो । “आधा कट्ठा जग्गामा अनुदानमा पाएको आलु रोपेको थिए”, बमनुले भन्नुभयो, “अपेक्षा गरेभन्दा निकै बढी उत्पादन भएपछि उत्साहित बनाएको छ ।” अब बढी जग्गामा आलु रोप्ने योजना बनाएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार बेमौसमी आलुको माग निकै बढी रहेको छ ।

“रु एक सयप्रति किलोका दरले आलुको बीउ बिक्री गर्दा पनि किसानले माग गर्न छाडेका छैनन्”, उहाँले भन्नुभयो, “आफूलाई रोप्न राखेर बीउ अरूलाई बेच्न थालेको छु ।” फागुनमा रोपेको बेमौसमी आलुलाई किसानले वैशाखको दोस्रो सातादेखि खन्न सुरु गरेका छन् ।

खानमा निकै स्वादिलो र अरू आलुको तुलनामा उत्पादन तेब्बर बढी हुने गरेको किसानको भनाइ छ । कालागौंडीका किसान ठग्गु रानाले बेमौसमी आलु खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने बताउनुभयो । पहिलो पटक खेती गर्दा निकै बढी उत्पादन भएकाले एक बिघामा खेती गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

पहाडी क्षेत्रमा मात्रै लगाइने गरेको बेमौसमी आलु तराईमा पहिलो पटक खेती गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो ।रासस