पूर्वी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ–अधेँरीघाट ३५ किलोमिटर सडकको स्तरोन्नतिले गति लिएको छ । पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ, च्याङ्ग्रे, मानेडाँडाहुँदै भोजपुर र धनकुटाको सिमाना अधेँरीघाटसम्म सडक निर्माणले गति लिएको हो ।

पौवादुङमा गाउँपालिकाको मुख्यमार्गका रूपमा रहेको यो सडक गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारको लागत साझेदारीमा निर्माण भइरहेको हो । यसवर्ष प्रदेश सरकारको रु एक करोड, केन्द्र सरकारको रु एक करोड २० लाख र गाउँपालिकाको रु एक करोड ५० लाख लागतमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ ।

आगामी दिनमा कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको यो सडक खण्ड अन्तर्गत ११ किलोमिटरमा गे्रडिङ मिलाउने, चौडा गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, ड्रेन बनाउनेलगायतको काम सकिएको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।

“यो हाम्रो गाउँपालिकाको मुख्य सडक हो”, उहाँले भन्नुभयो, “एघार किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको यो सडकलाई आगामी दिनमा कालोपत्र गर्ने लक्ष्य छ ।”

सडक विस्तारपछि वडा नं ५ सानोदुम्माका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने वडा अध्यक्ष बोमप्रसाद राईले बताउनुभयो । सडक विस्तारपछि स्थानीयले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उहाँको भनाइ छ । रासस