साँघुरा र ग्रेड नमिलेका सडक संरचनाका कारण बागलुङमा सवारी दुर्घटनाको जोखिम बढेको सरोकारवालाले बताएका छन् । बागलुङमा चालु आर्थिक वर्षमा भएका ११ वटा दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् ।
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण र सडक अनुशासन कायम गर्न बागलुङमा सोमबारदेखि ट्राफिक सप्ताह सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइने छ ।
बागलुङ बजारमा सामाजिक सङ्घ संस्थासँगको सहकार्यमा सप्ताहको पहिलो दिन सोमबार ट्राफिक सचेतनामूलक प्लेकार्डसहित ¥याली र उद्घाटन गरिएको छ । सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले प्रत्येक व्यक्ति सचेत भएमात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
“साँधुरो र ग्रेड नमिलेका सडकमा सवारीसाधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ,” थापाले भन्नुभयो, “दुर्घटना कम गर्न सवारी चालक र यात्रुहरू बढी जागरुक बन्नुपर्छ, सडक प्रयोगकर्ता अनुशासित भए दुर्घटनामा कमी आउँछ ।”
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भूगोल र कच्ची सडकका कारण जिल्लामा दुर्घटना हुने गरेकोले यसको न्यूनीकरणका लागि सबैले ध्यान दिनुपर्ने औल्याउनुभयो । पैदलयात्री जथाभावी बाटो काट्ने, सवारी चालकले ट्राफिक नियमको पालना नगर्ने जस्ता कार्यले थप दुर्घटना बढ्दा जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक कार्यालय बागलुङका प्रमुख मीनबहादुर खड्काले बताउनुभयो ।रासस
