पछिल्लो चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीेको उद्धार भएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि हालसम्म सो सङ्ख्यामा उद्धार भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले १८ जिल्लाबाट पूर्ण र २९ जिल्लामा आशिंकरूपमा सञ्चालन रहेको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको उक्त कार्यक्रम प्रसव समस्या न्यूनीकरण गरी मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको थियो । उक्त आर्थिक वर्षमा २६ जना महिलाको उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ८७, २०७७/०७८ मा एक सय तीन, २०७८/०७९ मा एक सय ६९ र २०७९/०८० मा हालसम्म एक सय ३३ गरी जम्मा पाँच सय १८ महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निःशुल्क हवाई उद्धार सेवा प्रदान गरिएको एकाइ प्रमुख शर्माले जानकारी दिनुभयो ।
“प्रभावित क्षेत्रबाट मन्त्रालयलाई सम्पर्क गरेको आधारमा उद्धारको कामको प्रक्रिया अगाडि बढाइएको छ । सम्बन्धित स्वास्थ्य संस्थामा गएको व्यक्तिको उपचार सम्भव नभएको खण्डमा उक्त संस्थाबाट मन्त्रालयलाई महिलाको ज्यान जोखिम छ भनी गरिएको सूचनाको आधारमा प्रक्रिया सुरु गरिन्छ”, उहाँले भन्नुभयो । रासस