बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढ्नुभएकी उहाँलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन । सूचना प्रविधिका हिसाबले अझै पछाडिनै रहेको निसीखोलामा राम्रोसित कम्प्युटर सिक्ने ठाउँको अभाव छ ।

गत चैतमा एसइई दिएर बसेकी घर्तीलाई अहिले ठूलो अवसर प्राप्त भएको छ । निसीखोला–१ स्थित देवीस्थान माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ । अनी मात्र घर्तीलाई पहिलो पटक कम्प्युटर सिक्ने अवसर जुरेको हो ।

कम्प्युटर सिक्ने ! भन्दा सुगम ठाउँमा सामान्य लाग्न सक्छ । तर दुर्गम गाउँमा यसको ठूलो महत्व छ । निसीखोलाका धेरै ठाउँमा अहिले पनि इन्टरनेट पुग्न सकेको छैन । कम्प्युटर सिक्ने त धेरै टाढाको कुरा हो । देवीस्थान माविले विद्यार्थीका लागि दिएको यो अवसरबाट धेरै विद्यार्थी लाभान्वित भएका छन् । यस विद्यालय बाहेक अन्य ठाउँबाट आएका विद्यार्थीले समेत निःशुल्क कम्प्युटर सिक्न पाइरहेका छन् ।

एसइई दिएपछि बुर्तिबाङ बजारमै झरेर कम्प्युटर कक्षा लिने सोच बनाउनु भएकी घर्ती अहिले गाउँ नजिकैको विद्यालयमा कम्प्युटर सिक्न पाएपछि खुसी हुनुभएको छ । विद्यालयले निःशुल्क कक्षा दिन थालेपछि विद्यार्थीको हजारौँ रुपैयाँसमेत बचत भएको छ । नजिकमा कम्प्युटर सेन्टर नहुँदा विद्यार्थी बुर्तिबाङ, बागलुङलगायत बजार पुग्नुपर्ने स्थिति छ । रासस