स्याङ्जा सहयोग समाजको प्रथम युरोप क्षेत्रीय भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको भेलाले विभिन्न निर्णय पारित गरेको छ ।

भेलाले ‘मानव सेवामा स्याङ्जावासीको सोच, एक करोड अक्षयकोष’ भन्ने मूल नाराका साथ स्थापना गर्न लागेको अक्षयकोषका लागि पोर्चुगलबाट रु १० लाखसहित युरोपबाट रु ३० लाख सङ्कलन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको भेलाले अक्षयकोषलाई विशेष अभियानका रूपमा सञ्चालन गर्ने, समाजको महादेशस्तरीय भेला गर्ने, सहकारीमार्फत सामूहिक लगानी गर्ने, युरोपका विभिन्न मुलुकमा रहेका स्याङ्जालीलाई सङ्गठित र गोलबन्द गर्ने, स्याङ्जाको विकास र समृद्धिका लागि सहकार्य गर्नेलगायतको निर्णय गरेको समाजले जनाएको छ ।

सो अवसरमा बोल्दै स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले स्याङ्जाको विकास र समृद्धिका लागि विश्वभर छरिएर रहेका प्रवासी स्याङ्जाली एकताबद्ध हुनुपर्ने बताउनुभयो । समाजले स्थापनाकालदेखि नै सामाजिक र परोपकारका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै अर्यालले मानव सेवाका लागि अक्षयकोषमार्फत जोडिन सबै प्रवासी स्याङ्जालीलाई आग्रह गर्नुभयो ।

समाजका अन्तर्राष्ट्रिय समन्वय समितिका वरिष्ठ सल्लाहकार थर्क सेन, सल्लाहकारहरू शशी पौडेल, धु्रवराज पौडेल, एमपी अर्याल, उपाध्यक्ष हेमन्त रानाभाट, महिला सचिव इन्दिरा खनाल, युरोप संयोजक रामचन्द्र शर्मा, समाजका स्पेन अध्यक्ष विमल गुरुङ, बेलायतका अध्यक्ष शारदा गुरुङ, नेदरल्याण्ड्सका अध्यक्ष राजेन्द्र शर्मा, बेल्जियमका उपाध्यक्ष पूर्णप्रसाद खनाल, फ्रान्सका महासचिव उदयराज पाण्डेलगायतले प्रवासमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई जिल्लाको विकास र समृद्धिमा लगानी गर्नका लागि समाजमार्फत सबैले हातेमाले र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।रासस