मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताउनुभयो ।

उहाँले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताउनुभयो । मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ ।

प्रदेशका अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ तोकेर आगामी आवको योजना तथा कार्यक्रम माग गरिसकेको छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले बजेटको मार्गनिर्देशन र बजेटको सिलिङबारे सबै मन्त्रालय र प्रदेश सरकार मातहत रहेको बजेट खर्च संयन्त्रलाई जानकारी गराइसकेको बताउनुभयो ।

अर्थ सचिव भट्टराईले आगामी आर्थिक वर्षको लागि सङ्घीय सरकारले २० प्रतिशत कटौती गरी बजेट सिलिङ पठाएको बताउँदै उहाँले सोहीअनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले चालु आवको भन्दा २० प्रतिशत कम अर्थात २० अर्बको मात्र बजेट सिलिङ पठाएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारको बजेट रु ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार छ ।रासस