नेपाली सेनाले धनकुटा नगरपालिकाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरमा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मूल प्रवेशद्वार निर्माण गरी आज हस्तान्तरण गरेको छ ।
सेनाको क्विक इम्प्याक्ट कार्यक्रमअन्तर्गत रु १० लाखको लागतमा ऐतिहासिक महत्त्व बोकेको उक्त प्रवेशद्वारको निर्माण कार्य विसं २०७९ कात्तिक ३ गते सुरु गरिएको थियो । प्रवेशद्वार भक्तपुरका दक्ष कालिगडले पुरातात्विक शैलीमा निर्माण गरेको श्री नं २ वाहिनी अड्डा हिलेले जनाएको छ ।
नेपाली सेना पूर्वी पृतनाका हेड क्वार्टर इटहरीका पृतनापति डा आसबहादुर तामाङले प्रवेशद्वारको आज उद्घाटन गर्दै निर्माणले ऐतिहासिक र धार्मिक महत्त्व वृद्धि गर्नाका साथै मन्दिर तथा धनकुटा जिल्लामा धार्मिक पर्यटक आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, २ नं वाहिनी अड्डाका वाहिनीपति सहायक रथी महेशकुमार थापा, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, धनकुटा वडां १ का अध्यक्ष वाङ्गदा तामाङ लगायतले प्रवेशद्वार निर्माणले यस क्षेत्रको गरिमा वृद्धि भएको उल्लेख गर्नुभयो ।रासस
