प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ ।

सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्नुहुँदै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

“जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्”, सांसद केसीले भन्नभयो, “यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।”

सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन आवश्यक रहेको बताउनुभयो । सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताउनुभयो । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराउनुभयो ।

“कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।रासस