‘मनैदेखि सेवा’ भन्ने नाराका साथ १६०औँ विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो दिवस विश्वभर मनाइन्छ ।

सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभामा ड्युनाको जन्म भएको थियो । ड्युनाले सल्फेरिनोमा भएको युद्धका घाइते सैनिकको बिना भेदभाव गर्नुभएको उद्धार र सेवाले नै सन् १८६३ मा रेडक्रसको जन्म दिनुभएको थियो । सन् १८५९ मा ड्युनाद्वारा लिखित ‘मेमोरी अफ सोल्फेरिनो’ (हृदयस्पर्शी यात्रा संस्मरण ) ले प्रथम नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेको थियो । यस वर्षको नाराले रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपि भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई समग्रमा सङ्केत गर्दछ ।

रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्दछ । यसले प्रत्येक वर्ष सशस्त्र सङ्घर्ष, प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पुर्‍याउन सकेको छ भने यस अभियानको एक सदस्यको रूपमा नेपाल रेडक्रसले वार्षिकरूपमा करिव ३५ लाख व्यक्तिलाई सेवा पु¥याउँदै आएको छ ।

हाल रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय संस्था हो । यस अभियानमा विश्वभरका करिब १० करोडभन्दा बढी व्यक्ति आवद्ध छन् । रासस