“गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।” तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपथ्र्यो । पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउनुहुन्थ्यो । गाउँको बीचमा रहेको एउटा धारोबाट सिङ्गो टोलका स्थानीयले पानी भर्नुपर्ने बाध्यता थियो तर अहिले कसैले पनि पानी भर्न घण्टौँ कुर्नु पर्दैन । अहिल प्रत्येकको घर–घरमा धारा जडान भएका छन् ।
खोलेस्बाङ गाउँमा गोर्खा वेयलफेयर संस्थाले एक घर एक धारा निर्माण गरी दिएपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको छ । वि.सं. २०७८ चैतदेखि सुरु भएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजना विसं २०७९ जेठमा सम्पन्न भएको थियो । खानेपानी आयोजना निर्माणका लागि वेयदफेयर संस्थाले रु ७८ लाख सहयोग गरेको थियो भने स्थानीयले ९९ सय दिन जनश्रमदान गरेका थिए । घर–घरमा धारो बनेपछि पहिले सुक्खा रहेका स्थानीयका करेसा बारी अहिले तरकारीले हरियाली भनेका छन् । पशुचौपायाले पेटभरी पानी पिउन पाएका छन् भने शौचालय पनि सफा भएका छन् ।
अहिले गाउँमा एक सय ३५ घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् भने सार्वजनिक ठाउँमा चार वटा थप नयाँ भारा निर्माण भएका छन् । स्थानीलाई पहिलेको जस्तो पानी सुक्छ भन्ने चिन्ता पनि छैन । आवश्यकताअनुसार पानीको प्रयोग गर्न सकिने श्यामकुमारी बताउनुहुन्छ । पहिले खेतीयोग्य जमिन हुँदा पनि पानीका कारण तरकारी खेती गर्न नसकिएको भन्दै अहिले बाहिरबाट किनेर खानुपर्ने अवस्था नरहेको रसाइलीको भनाइ छ । अहिले पानी बोक्ने समय अन्य काम गर्ने गरेको उहाँले बताउनुभयो ।रासस