तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणका लागि ९४ टावर जडान गरिनेछ । त्यसमध्ये आठ टावरको जग संरक्षण सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण र छ स्थानमा जग्गा हाल्ने काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै शून्य दशमवलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ ।
प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।
आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्य भइरहेका छन् । पाँच सय ३८ दशमलव पाँच मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२ दशमलव पाँच मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थु्र) कङ्क्रिट लाइनिङको काम भइरहेको छ ।रासस