नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ ।

काठमाडाँैं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौंँ उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्धरुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

सन् २०५० सम्ममा काठमाडौँ उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सवस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

सवस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । कूल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी ‘रिङ’ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।

हाल काठमाडौँको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सवस्टेसन निर्माणाधीन छन् ।

टेकु र चाँगुनारायण सवस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सवस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ । रासस