कायरोमा आइतबार भएको अरब लिग को असाधारण बैठकमा अरबका विदेशमन्त्रीहरूले १२ वर्षको निलम्बनपछि लिगमा सिरियाको सदस्यता पुन ः स्थापित गर्ने निर्णय गरेका छन् ।
मन्त्रीस्तरीय अरब लिग परिषद्को बैठकले मे ७, २०२३ सम्म अरब लिग काउन्सिल र यसका सबै सङ्गठन र निकायको बैठकमा सिरिया सरकारका प्रतिनिधिमण्डलको सहभागिता पुनः सुरु गर्ने निर्णय गरेको छ ।
अरब विदेशमन्त्रीहरूले ‘सिरियालाई सङ्कटबाट बाहिर निकाल्न’ प्रयासलाई तीव्र पार्नुपर्ने आवश्यकतामा पनि सहमति जनाएका छन् । उनीहरुले सिरियाको सार्वभौमिकता, क्षेत्रीय एकता, स्थिरता र क्षेत्रीय अखण्डतालाई एएल बडापत्र र यसका सिद्धान्तका आधारमा संरक्षण गर्ने प्रतिबद्धता दोहो¥्याएका छन् ।
जोर्डन, साउदी अरब, इराक, लेबनान, इजिप्ट र अरब लिगका महासचिव सम्मिलित एक समिति गठन गर्न पनि सबै देशका विदेशमन्त्रीहरू सहमत भएका छन् । समितिले ‘सिरियाली सङ्कटको विस्तृत समाधानमा पुग्न सिरियाली सरकारसँग प्रत्यक्ष संवाद जारी राख्नेछ ।
जोर्डन, साउदी अरब, इराक, इजिप्ट र सिरियाका विदेशमन्त्रीहरूबीच गत साता जोर्डनको राजधानी अम्मानमा भएको बैठकमा सिरियाको सदस्यता पुनः स्थापित गर्ने विषय केन्द्रित थियो । अम्मानमा भएको वार्ता जोर्डनको नेतृत्वमा सिरियासँग अरब सामान्यीकरणका लागि गरिएको पहलको एक हिस्सा थियो ।
सन् २०११ मा निलम्बित गरिएको अरब लिग सदस्यता अम्मान वार्ताले स्थापित गर्ने बाटो खोलेको थियो । सिरियाको अवस्थाबारे छलफल गर्न गत अप्रिलको मध्यतिर जोर्डन, इजिप्ट र इराकका साथै गल्फ को–अपरेशन काउन्सिलका राष्ट्रहरूले साउदी अरबको जेद्दामा यस्तै मन्त्रीस्तरीय बैठक आयोजना गरेका थिए ।
बैठकको केही दिनपछि साउदी विदेशमन्त्री राजकुमार फैजल बिन फरहान अल साउदले दमास्कसको भ्रमण गर्नुभएको र सम्बन्ध सुधारको सन्देश दिनुभएको थियो । रासस