कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएका पत्रकारमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज बिहान जारी विज्ञप्तिमा सरकारले विसं २०७३ मा नेपालमा समाचारमूलक पत्रिका ‘गोरखापत्र’को प्रकाशन आरम्भ भएको दिन वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । यसपछि हरेक वर्षको वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रुपमा मनाइन्छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा कोशी प्रदेश सरकारले पनि हरेक वर्ष प्रदेशभित्रका क्रियाशील अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’मार्फत सम्मान गर्दै आएको छ र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको जनाएको छ ।
विज्ञप्तिमा इतिहासको छोटो अवधिमै सूचना, शिक्षा र मनोरञ्जनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा सरकारलाई खबरदारी गर्दै राष्ट्रिय सङ्कटका बेला नेपाली समाजलाई एकताबद्ध बनाई राष्ट्र निर्माणमा नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक पत्रकारिता क्षेत्रको प्रणवायु हो, यही कुरालाई हृदयङ्गम गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधान २०७२ मा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ ।रासस
