सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजा र महाराजाको गुणगान गाउने सञ्चारमाध्यमको रुपमा रहेको गोरखापत्र आम जनताको आवाज बोल्ने थलोको रुपमा स्थापित हुँदै गएकामा प्रशन्नता व्यक्त गर्नुभएको छ ।

गोरखापत्र प्रकाशन भएको १२३औँ र संस्थानको ६१औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले गरिरहेका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनता समक्ष पु¥याउन आग्रह गर्नुभयो । उहाँले पछिल्ला दिनमा स्थापित हुँदै गएको नकारात्मक प्रवृत्तिलाई सकारात्मक बनाउन पनि यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सरकार यस क्षेत्रसँग जोडिएका नयाँ ऐन कानुन बनाउने क्रममा रहेको उल्लेख गर्दै मन्त्री शर्माले आम सञ्चार प्रतिष्ठान ऐन तथा अन्य ऐनलाई अन्तिम चरणमा पु¥याइएको जानकारी दिनुभयो ।

आम समुदायमा आशाको भाव पैदा गर्ने काममा सञ्चारमाध्यमले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उहाँले सकारात्मक प्रवृत्तिलाई विशेष स्थान दिनुपर्ने बताउनुभयो । आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सवल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो रहेको बताउनुभएको छ ।

संस्थानको पुनःसंरचना जरुरी भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले गोरखापत्र संस्थानको संरचनागत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आइसकेको स्पष्ट पार्नुभयो । रासस