पत्रकारिता क्षेत्रका सरोकारवालाले गोरखापत्रको शैली र स्वरूपमा आएको परिवर्तनले उत्साहित बनाएको बताउनुभएको छ ।

गोरखापत्र प्रकाशनको एक सय २३ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज संस्थान मधेस प्रदेश कार्यालयले जनकपुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले त्यस्तो बताउनुभएको हो ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले सरकारी माध्यम हुनुको दायित्वका साथै गोरखापत्रले गाउँघरमा जनताको दैनिक जीवनसँग जोडिएका विकास पूर्वाधार तथा अन्य गतिविधि प्रकाशनमा सुधार ल्याएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले लामो इतिहास बोकेको गोरखापत्रले जनताका मुद्दाहरूलाई थप प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड् दिनुभयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले गोरखापत्रले सरकारका मात्रै कुरा गर्दैन भन्ने सन्देश प्रवाहका लागि ग्रामीण जनतासँग पुग्न थप प्रयास आवश्यक रहेको बताउनुभयो । त्यसैगरी नेपाल पत्रकार महासङ्घ, मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले राज्यले मिडिया चलाउनुहुँदैन भन्ने मान्यता रहे पनि आफूलाई परिष्किृत गर्दै गइरहेका गोरखापत्र जस्ता सरकारी माध्यमले जनसेवी माध्यमका रूपमा स्थापित गर्न गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । उहाँले गोरखापत्र सरकारको मात्रै भाषा बोल्छ भन्ने बुझाइ भत्किँदै गए पनि यसलाई बल पु¥याउने गरी आबद्ध पत्रकारले आफ्ना विषयवस्तु उठान गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्ण, पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य शैलेन्द्र झा, राससका प्रादेशिक प्रमुख टिकाराम सुनार, रेडियो नेपालका संवाददाता अजय झा, नेपाल टेलिभिजनका संवाददाता श्रीनारायण साहलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।रासस