गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक अधिकारसहितको नागरिकताका प्रदान गर्ने विषयमा प्रमुख दलका नेताले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली सङ्घको १५ औँ युरोप क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले गैरआवासीय नेपालीहरुका मुद्दाका एक मत जाहेर गर्नुभएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताउनुभयो । संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकाले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताउनुभयो ।
परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी मुद्दा १५ ÷१६ वर्षदेखि बहसको विषय बनिरहेको छ, अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता म सरकारको तर्फबाट गर्दछु ।” गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रुपमा कुनै समस्या र विमति नभएको भन्दै बताउँदै भन्नुभयो, “संविधान सम्मानित छ र परिवर्तनशील पनि छ । संविधान परिवर्तन नहुन्जेल चाही हामी संविधानको दायराभित्र बस्नुपर्छ । तपार्इँहरुका समस्यालाई कानुनी फ्रेमवर्कमा राखेर समाधान गरिनेछ ।”रासस
