नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ । स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गर्नुभयो । सो अवसरमा उहाँले बुद्धपछिको बुद्ध भगवान्का रूपमा सम्मानित भगवान् पद्मसंभवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
“दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ”, उहाँले भन्नुभयो, “हजारौँ वर्षदेखि मानिस एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौँ । त्यो हाम्रो महान् धर्म, संस्कृति र त्यसले सिकाएको पाठको नतिजा हो ।”
एक हजार दुई सय वर्षअघि बुद्धधर्मको प्रचारका लागि विशेष गरेर तिव्बत र नेपाली भूमिमा समेत योगदान पु¥याउनुभएका ‘गुरु पद्मसंभव’लाई बौद्ध धर्मावलम्बीले सिद्धार्थ गौतम बुद्धपछिको ‘दोस्रो ठूलो भगवान्’को अवतारका रूपमा पुज्ने गरेका छन् ।
बेतिनीस्थित नाम्सापुरानमा करिब १० रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसंभव’को मूर्ति निर्माणका लागि रु ७० लाख २० हजार लगानी भएकाले अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले बताउनुभयो । उहाँका अनुसार दुप्चेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारमार्फत करिब रु ३८ लाख प्राप्त भएको र बाँकी रु ३२ लाखभन्दा बढी रकम स्थानीयवासीले चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको हो । रासस
