नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गर्नुभएको थियो । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उहाँ नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गर्नुभयो । विसं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो तर, त्यसलाई तत्कालीन सरकारले मान्यता भने दिएन ।

विसं १९५८ मा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षको हुनुहुन्थ्यो । त्यो समयमा सरकारलाई चेतना जगाउन जो कोहीले सक्दैनथे । आफ्ना नातेदार तथा भारद्वाजबाहेक राणाको नजरमा वीरलै मान्छेको मात्रै नजर पर्दथ्यो । जयपृथ्वीबहादुर सिंह त्यसबेलाका अध्येता तथा लेखक राजाको नामले चिनिनुहुन्थ्यो । नातेदार भएकै कारण प्रधानमन्त्री देवशमशेर राणाले सिंहलाई सल्लाहकारको रूपमा राख्नुभयो ।

जयपृथ्वीले धेरै प्रयास गरेर प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाउनुभयो र उहाँ पत्रिका प्रकाशन गर्न राजी भएपछि १९५८ वैशाख २४ गते सोमबारका दिन गोरखापत्र साप्ताहिकको रूपमा प्रकाशनमा आयो । प्रधानमन्त्री देवशमशेरले प्रकाशन समयमा गोरखापत्रको सम्पूर्ण जिम्मेवारी जयपृथ्वीलाई नै दिनुभयो तर, जयपृथ्वीले व्यवस्थापकीय जिम्मेवारी भने पण्डित नरदेव पाण्डेलाई दिन सुझाव दिनुभयो र पाण्डेले नै दुई वर्ष गोरखापत्र साप्ताहिकको सम्पादक र व्यवस्थापकीय जिम्मेवारीमा सम्हाल्नुभयो । विसं १९६० मा फेरि गोरखापत्रको दोस्रो व्यवस्थापकको रूपमा जयपृथ्वीबहादुरलाई नै जिम्मेवारी दिइयो । सिंहको पालामा गोरखापत्रको सम्पादकको रूपमा चिरञ्जीवी शर्मा पौड्याल हुनुहुन्थ्यो । बाह्र वर्षसम्म जयपृथ्वीले गोरखापत्र प्रकाशनलाई निरन्तरता दिनुभयो ।रासस