कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाड्ने काम भइरहेको छ । बाघले मान्छे मारेको बेलौरी नगरपालिका–८ पचुईंस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी फाडिएको हो ।
बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन् । नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी–८ का अध्यक्ष बिसराम रानाले जानकारी दिनुभयो । “झाडीमा औषधि छर्केका छौँ, बिस्तारै झाडी सुक्दै गएको छ”, उहाँले भन्नुभयो, “झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गरिरहेको हो ।”
झाडी फडान भएपछि खप्टीनाला क्षेत्र खुल्ला हुनेछ । स्थानीय घरबाहिर निस्किन डराइरहेका छन् । “झाडी फडान भएपछि बाघ लुक्न नसक्ने विश्वासले स्थानीयको त्रास कम हुनसक्छ”, अध्यक्ष रानाले भन्नुभयो, “स्थानीयको मागअनुसार झाडी फँडानी गरिरहेका हौँ ।”
त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि बाघको त्रासले रातिमा मानिसको आवतजावत निकै कम भएको उहाँले बताउनुभयो । मानिसमा आक्रमण गर्ने बाघको जोडी सो क्षेत्रमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा ठूलो घनाजङ्गल छैन ।
यही वैशाख ८ गते घाँस काट्न गएकी बेलौरी–८ की गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । महिलालाई आक्रमणपछि बाघ खप्टी नालाको झाडीमा लुकेको थियो । घटनापछि स्थानीय त्रसित बनेका छन् । “पचुईंपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्”, स्थानीय महेश विष्टले भन्नुभयो, “घटनापछि स्थानीयमा डर छ, सामान्य अवस्थामा फर्किन सकेका छैनौँ ।रासस