सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक स्थानीय तहहरुलाई योजना छनोट गर्न माग गरेको छ । प्रदेश सरकारबाट आवश्यक पर्ने योजना छनोट गर्न स्थानीय तहहरुलाई माग गरिएको हो ।
स्थानीय तहहरुले पठाएका योजनाहरुलाई प्रदेश सरकारले छनोट गर्ने जनाएको छ । योजना छनोटका लागि प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेको छ । प्रदेश सरकारले पहिलो पटक स्थानीयस्तरबाट योजना छनोट कार्य सुरु गरेको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेर प्रदेश सरकारले पहिलोपटक योजना माग गरेको हो ।”
योजना छनोट गर्न जिल्लाका दुईओटै प्रदेशसभा क्षेत्रमा कार्यशाला गोष्ठी सम्पन्न भइसकेको र थानीय तहबाट आएका योजनाहरुलाई प्राथमिकीकरणका आधारमा छनोट गरिने जनाइएको छ । कार्याशाला गोष्ठीमा प्रदेशसभा सदस्यहरु, सबै पालिकाका प्रमुख उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।
प्रदेशका योजनाहरु छनोटका लागि पहिलो पटक स्थानीयस्तरबाट योजनाहरु माग गर्न कार्यशाला गरिएको र स्थानीय तहहरुबाट योजनाहरु आउने क्रम जारी रहेको प्रमुख जोशीले बताउनुभयो । प्रदेश सरकारले माग गरेअनुसार स्थानीय तहहरुबाट योजना आउने क्रम जारी रहेको छ । उहाँले भन्नुभयो, “जिल्लाका पाँच पालिकाबाट योजना छनोट गरेर पठाएका छन्, पाँच पालिकाको आउन बाँकी छ, वैशाख २३ गतेसम्म सबै पालिकालाई पठाउन भनेका छौँ, त्यसपछि प्राथमिकीकरण गरेर प्रदेश सरकारलाई पठाउँछौँ ।”रासस
