२५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।

बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकाल्ने तयारी छ । शोभायात्रा सभाहलसम्म पुगेपछि मूल समारोह सुरु हुने लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिनुभयो ।

बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले गठन गरेका मूल व्यवस्थान समिति र विभिन्न उपसमिति सक्रिय छन् । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पुर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो ।रासस