बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।
स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ । वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका–६ कार्यालयले यस्तो योजना कार्यान्वयन गरेको हो ।
एक घर एक टनेलमार्फत उत्पादन भएको तरकारीले घरमा उपभोग भई बाँकी तरकारी सङ्कलन गरी बजार पठाउन सकिने योजनासाथ गाउँपालिका–६ नर्जाखानीको वडा कार्यालयले चालु आर्थिक वर्षमा रु नौ लाखको योजना कार्यान्वयनमा लगेको हो ।
दुर्गम गाउँका नागरिकलाई स्थानीय सरकारले प्रत्यक्ष आयआर्जनसँग जोड्न आवश्यक ठानेर यो कार्यक्रम ल्याएको तमानखोला गाउँपालिका–६ का वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो । “ यहाँका नागरिकको आर्थिक जीवनस्तर उकास्न आवश्यक छ, त्यसैले वडाध्यक्षमा निर्वाचित भएको पहिलो वर्ष नै ठूलो बजेट कृषिमा लगानी गरिएको छ, अहिले नौ लाख बजेटबाट टनेल स्थापना गर्न ८५ प्रतिशत अनुदानमा दुई सय घरमा टनेल स्थापना गर्ने योजना हो, हालसम्म एक सय ६० टनेल वितरण गरिसकेका छौँ”, वडाअध्यक्ष छन्त्यालले भन्नुभयो । रासस
