आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभएको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन ः विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैँसी पालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । उपल्लो दरवाङको केबि एकेडेमी नजिकै २०७७ सालदेखि भैँसीपालन गर्नुभएका पौडेलले छ भैँसीबाट दैनिक ४० लिटर दूध दरवाङ बजारमा बिक्री गर्दै आउनुभएको छ ।
प्रतिलिटर रु एक सय २० का दरले दूध बिक्री गर्दा पौडेलले दैनिक रु चार हजार आठ सय कमाइ गर्नुहुन्छ । दूध बिक्रीबाट मासिक रु एक लाख ४४ हजार कमाइ गर्ने पौडेलले सबै खर्च कटाएर मासिक रु ८ं० हजारभन्दा बढी बचत गर्ने गर्नुभएको छ ।
विसं २०७७ मा रु १२ लाखको लगानीबाट भैंँसी पालन सुरु गर्नुभएका पौडेलले अहिले लगानी बढाएर रु २० लाख जति खर्च भएको बताउनुभयो । भैँसीपालनसँगै बाख्रापालन र तरकारी खेतीसमेत गर्नुभएका पौडेलको सबैतिरबाट आम्दानी जोड्दा मासिक रु एक लाखभन्दा बढी हुन आउँछ । “विदेशमा अरुको अधिनमा रही काम गर्दा पनि रु ४० हजारभन्दा बढी कमाइ हुँदैन्थ्यो”, पौडेलले भन्नुभयो, “यहाँ आफ्नै गाउँमा परिवारसँगै बसेर काम गर्ने हो भने रु एक लाखभन्दा बढी मासिक कमाइ गर्न सकिँदो रहेछ ।रासस
