काभ्रेपलाञ्चोकको बनेपा नगरमा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आइएको प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु भएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्राअन्तर्गत आज अपरान्ह हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारको तर्फबाट पूजागर्ने व्यक्तिको सहभागिता जनाएपछि जात्राको औपचारिक सुरुआत भएको मानिन्छ ।
विशेषगरी हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमाको दिनदेखि यो जात्रामा भक्तजनको ठूलो सहभागितामा धुमधामसँग मनाउने गरिन्छ । नगरको मुख्य बजार बनेपामा चण्डेश्वरी जात्रा आउँदो आइतबारसम्म मनाइने भएको हो । विशेष पर्वझैंँ मानिने जात्राका लागि चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिगारिएको छ ।

बनेपालीका लागि यो जात्रा महान पर्व दसैँ जस्तै लाग्ने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सवले भरिएको देखिन्छ । जात्रा व्यवस्थापन समिति र स्थानीयवासीले जात्रामा रथोरोहणका लागि ठूलाठूला काठको खट आज तयार गरिसक्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । सरकारी पूजाआजको प्रतिनिधिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकोमा गर्व गर्छन् । बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन् ।

आजदेखि चण्डेश्वरी मन्दिर, सडक, बस्ती–गल्लीमा भीडभाड हुन्छ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजागर्न टाढादेखि भक्तजन आउने स्थानीय बृद्ध जगतबहादुर मानन्धरले बताउनुहुन्छ । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्ने गर्छन् । बनेपा नगरपालिका कार्यालयले बर्सेनि जात्रामा आर्थिक सहयोग गर्नेगर्दछ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएको छ । रासस